सहकारी दर्ता गराउनेको घुइँचो
कृषि सामाग्री कम्पनीले राहतको मलखाद गाउँका सहकारीमार्फत वितरण गर्न थालेपछि सहकारी दर्ता गराउनेहरुको सङ्ख्यामा एक्कासी वृद्धि भएको छ।
कपिलवस्तु डिभिजन सहकारीमा दुईसाता यतामात्र २० वटा सहकारी संस्थाले दर्ताका लागि निवेदन दिएका छन् । कार्यालयका निमित्त प्रमुख राजकुमार पोखरेलले कृषि सामग्रीले सहकारी संस्थाहरुलाई पहिलो प्राथमिकतामा राखि राहतका रासायनिक मल उनीहरुमार्फत वितरण गरेपछि संस्था खोल्नेहरूको लहर चलेको बताए ।
कार्यालयका अनुसार गतवर्ष ३० वटामात्र सहकारी दर्ता भएको र दुईसातामा यसरी २० वटा निवेदन पर्नुले कामको चाप बढाएको छ । अर्घाखाँची तथा कपिलवस्तु जिल्ला हेर्ने यस डिभिजन कार्यालयमा दुवै जिल्लाका गरी साउन र भदौमा मात्र ५० भन्दाबढि सहकारी संस्थाले दर्ताका लागि आवेदन दिएका छन् । कार्यालय प्रमुखको अभावले दर्ता कार्य रोकिएको निमित्त प्रमुख पोख्रेलले बताए ।
जिल्ला कृषि समितिले यस वर्षदेखि मलखाद पारदर्शी तथा न्यायोचित वितरण गर्न सहकारीलाई जिम्मा दिइनेे निर्णय गरेको थियो । भर्खरै दर्ता भई राहत कोटाको मलखाद वितरण गरिरहेका कपिलवस्तु ९ स्थित गणेश कृषि सहकारीका अध्यक्ष उमेश गुप्ताले सहकारीलाई जिम्मा दिदा पारदर्शी तरिकारले सम्पूर्ण किसानलाई थोरै भएपनि मल वितरण भएको बताए ।
मल वितरण जिम्मा पाएपछि सहकारीको केहि आयश्रोत बढ्नुको साथै यस प्रति आर्कषण बढेको समेत उहाले बताउनुभयो । अन्य विभिन्न सङ्घसंस्थारा गठिन सामुदायिक समिति, संस्था तथा समूहहरुले पनि सहकारी दर्ता सम्बन्धि सोधपुछका लागि अत्यधिक मात्रामा कार्यालय आउने गरेको निमित्त पोख्रेल बताउनुभयो ।
जिल्लामा हाल १७३ वटा सहकारी दर्ता भइसकेका छन् । जसमध्ये ३७ वटा सहकारीले मात्र मलखाद वितरण गर्ने जिम्मा पाएको छ ।
Last Updated (Friday, 04 September 2009 03:16)
Content Layouts



